info@elocalnepalkhabar.com

१८ वर्षदेखि अलपत्र थरुहट सडकका दुई पुल: वर्षायाममा स्थानीयलाई आवतजावत गर्न सास्ती

प्रमोद यादव बीरगञ्ज,२साउन ,पर्सा। पर्सा जिल्लाको थरुहट सडक खण्ड अन्तर्गत पर्ने दुईवटा नदीमा आएको बाढीका कारण विगत २/३ दुई तिन दिनदेखि अवरुद्ध रहेको सडक आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ।


थरुहट सडकको मुख्य सडकमा अविरल वर्षासँगै पर्सागढी नगरपालिका वडा नं. ९ एकटाङ्गास्थित तिलावे नदी र पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ फरहदवास्थित भलुवाही नदीमा आएको बाढीका कारण सडक ठप्प भएको थियो। बाढीको बहाव केही कम भएपछि आज बिहानदेखि यातायात सञ्चालनमा आएको स्थानीय बासिन्दा सुभाष दासले जानकारी दिए।


१८ वर्षदेखि निर्माण अलपत्र, ठेकेदारको लापरबाही चरम सीमामा 

सडक खुलेर तत्काल राहत मिलेको जस्तो देखिए पनि यहाँका स्थानीयले विगत १८ वर्षदेखि पुल नहुँदा सास्ती खेप्दै आएका छन्। एकटाङ्गास्थित तिलावे नदीको पुल निर्माणको जिम्मा पपु कन्स्ट्रक्सनले र भलुवाही खोलाको पुल निर्माणको जिम्मा वाई.पी. मोना कन्स्ट्रक्सनले लिएका स्थानीयले बताएका छन् ।


करिब साढे ५ करोड रुपैयाँको लागतमा यी दुई पुल निर्माण गर्ने सम्झौता भएको झण्डै दुई दशक बितिसक्दा पनि काम अझै अधुरै छ। ठेकेदार कम्पनीको चरम लापरबाही र स्थानीय स्तरबाट बेलैमा बलियो दबाब (खबरदारी) पुग्न नसक्दा ठेकेदारले आफ्नो मनोमानी ढंगले काम रोकेर राखेको स्थानीय तपसी राउत बताउँछन्।


जनप्रतिनिधि र सरोकारवाला निकाय मौन

पुल निर्माण नहुँदा विशेषगरी वर्षायाममा स्थानीय बासिन्दाको आवतजावत कष्टकर बन्ने गरेको छ। स्थानीय जनप्रतिनिधि र राज्यका माथिल्ला निकाय यसप्रति उदासीन बनेको आरोप स्थानीयको छ।


स्थानीय रामगोपाल साहले आक्रोश पोख्दै भने, “पुलको दुरावस्थाबारे स्थानीय पालिका, प्रदेश सरकार र केन्द्रीय संसद (सांसद) हरू कानमा तेल हालेर बसेका छन्। जनताले भोग्नुपरेको यति ठूलो समस्या समाधानका लागि सम्बन्धित कुनै पनि निकायले बलियो र ठोस पहल गरेका छैनन्।”


यातायात ठप्प हुँदा सर्वसाधारण मर्कामा पुल नहुँदा वर्षाको समयमा विद्यालय जाने साना बालबालिका, आकस्मिक सेवाका एम्बुलेन्स, यात्रुवाहक बस तथा अन्य अति आवश्यक सवारी साधनहरू सञ्चालन हुन सकिरहेका छैनन्। जसका कारण बिरामीलाई अस्पताल पुर्‍याउन समेत निकै सास्ती खेप्नुपर्ने बाध्यता छ।


ठूला राजनीतिक दल र तिनका नेताहरूले चुनावका बेला विकासका आश्वासन बाँडे पनि वर्षौंदेखि अलपत्र परेका यी दुई पुल निर्माण सम्पन्न गराउन कसैले चासो नदेखाउँदा पर्साका यी दुई स्थानीय तहका हजारौँ नागरिक सधैँ जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

प्रतिक्रिया