info@elocalnepalkhabar.com

दुधेश्वरनाथ महादेव मन्दिर (भाठाधाम) मेलाको पूर्वसन्ध्यामा सांसद चौरसियाद्वारा छलफल, बार्हो महिना मेलालाई संचालन गर्ने गरि व्यवस्थित र पर्यटकीय धरोहर बनाउने प्रतिबद्धता ।

प्रमोद यादव,१०श्रावण  ।


पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पहाडको टुप्पोमा अवस्थित, पर्सा क्षेत्र नम्बर ३ (क) तथा पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ मा पर्ने धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल ‘बाबा दुधेश्वरनाथ महादेव मन्दिर’ (रामभौरी भाठाधाम) मा लाग्ने मेलाको पूर्वसन्ध्यामा सरोकारवाला सङ्ग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।



मेला सुरु हुनुभन्दा अगावै मन्दिर परिसर पुग्नुभएका पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य (सांसद) रामाकान्त चौरसियाले मेला व्यवस्थापन समिति र धार्मिक आस्था राख्ने स्थानीय जनसमुदायसँग विस्तृत छलफल गर्नुभएको हो।



छलफलका क्रममा मेलालाई केवल मौसमी रूपमा मात्र नभई बाह्रै महिना सञ्चालन गरी राष्ट्रिय स्तरको धार्मिक धरोहरका रूपमा विकास गर्नका लागि आवश्यक नीति, बाटोघाटोको स्तरोन्नति र सुरक्षा व्यवस्थाबारे गहन कुराकानी भएको छ।



संसद्‌मा आवाज उठाउने सांसद चौरसियाको प्रतिबद्धता


कार्यक्रममा बोल्दै सांसद रामाकान्त चौरसियाले जनताको जनप्रतिनिधि भएकाले धार्मिक तथा ऐतिहासिक धरोहरको संरक्षण र प्रवर्धनमा कहिल्यै पछाडि नहट्ने स्पष्ट पार्नुभयो। मेलालाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउन मेला समिति तथा श्रद्धालु भक्तजनहरूका माग र गुनासाहरूलाई सङ्कलन गरी आगामी संसद् बैठकमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।



नेपाल–भारतका लाखौँ श्रद्धालुको आस्थाको केन्द्र


साउन महिनाभर चल्ने यस मेलामा नेपालका पछाडि परेका दुर्गम क्षेत्रदेखि छिमेकी मुलुक भारतबाट समेत लाखौँको सङ्ख्यामा भक्तजनहरू आउने गरेको मेला संरक्षण तथा निर्माण समितिका अध्यक्ष अलखदेव चौधरीले जानकारी दिनुभयो।


त्यस्तै मेला समितिका अध्यक्ष गेनालाल पटेलले पर्सा जिल्लाका चारवटै सांसदहरूले मन, वचन र कर्मले सहयोग गरेमा दुधेश्वर महादेव मन्दिरलाई आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनाउन कुनै कठिनाइ नहुने बताउनुभयो।



सौराहाभन्दा कम छैन भाठाधाम : स्थानीय अगुवा


युवा नेता शिवकुमार शाह तेलीले मेलामा आउने श्रद्धालुहरूका लागि खानेपानी, शौचालय, स्नानस्थल, सुरक्षा र बाटोको प्रबन्ध क्रमिक रूपमा सुधार भइरहेको जानकारी दिनुभयो। "मेलालाई व्यवस्थित बनाउने जिम्मेवारी समिति मात्रको नभई सम्पूर्ण जनप्रतिनिधि र सरोकारवालाको साझा विषय हो," शाहले भन्नुभयो, "सबैले लगनशीलताका साथ काम गरेमा यो क्षेत्र पर्यटकीय दृष्टिकोणले चितवनको सौराहाभन्दा कम हुने छैन।"



वर्षैभरि मेला र ठोस नीतिको माग


हाल यो मेला वर्षको साउन महिनाभरिका साथै वैशाख, माघको श्रीपञ्चमी र फागुनको महाशिवरात्रिमा २/३ दिन मात्र लाग्ने गरेको छ। तर मेलालाई १२ै महिना निरन्तरता दिनुपर्ने मेला समितिका सदस्य मनोज यादवको भनाइ छ।


यादवका अनुसार चारकोसे झाडी, वन्यजन्तुको बासस्थान, पवित्र नदीको जल, पहाडी सौन्दर्य र जङ्गल सफारीका लागि हात्तीसमेतको व्यवस्था रहेकाले तीनै तहका सरकार (स्थानीय, प्रदेश र केन्द्र) ले ठोस नीति बनाएर लागू गरेमा यस क्षेत्रले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै आन्तरिक र बाह्य पर्यटनमा ठूलो क्रान्ति ल्याउन सक्छ।


स्थानीय नेता शिवकुमार शाहका अनुसार उक्त छलफल कार्यक्रममा मेला समितिका पदाधिकारी, स्थानीय सरोकारवाला व्यक्तिहरू तथा १५० भन्दा बढी श्रद्धालु भक्तजनहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

प्रतिक्रिया