वीरगञ्ज, साउन ११ – पर्साको जगरनाथपुर गाउँपालिका–१ निवासी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शंकास्पद मृत्यु प्रकरणमा निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै परिवार, आफन्त तथा स्थानीयवासीले प्रमुख जिल्ला अधिकारी, पर्सासमक्ष ज्ञापनपत्र बुझाएका छन्।


ज्ञापनपत्रमा लक्ष्मीको मृत्यु आत्महत्या नभई योजनाबद्ध हत्या भएको आशंका व्यक्त गरिएको छ। मृतकका श्रीमानबाट लामो समयदेखि मानसिक, शारीरिक तथा घरेलु हिंसा हुँदै आएको दाबी गर्दै दुवै परिवारका सदस्य र आफन्तले पटक–पटक सम्झाइ–बुझाइ तथा मिलापत्र गराउने प्रयास गरे पनि अवस्था सुधार नभएको उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा घटनाको अघिल्लो दिनसम्म पनि मृतकसँग विवाद भएको, घटनास्थलको अवस्था, शवमा देखिएका चोटपटक तथा अन्य परिस्थितिले मृत्यु शंकास्पद देखिएको दाबी गरिएको छ। त्यसैले मृतकका श्रीमानसहित घटनामा संलग्न हुन सक्ने सबै व्यक्तिमाथि निष्पक्ष, वैज्ञानिक र गहिरो अनुसन्धान गर्न माग गरिएको छ।
साथै प्रारम्भिक अनुसन्धान प्रभावकारी नभएको आरोप लगाउँदै प्रमाण नष्ट हुन नदिन, घटनास्थलको वैज्ञानिक परीक्षण गर्न, सम्बन्धित सबै व्यक्तिसँग बयान लिन, स्वतन्त्र छानबिन समिति गठन गर्न तथा दोषी जो–कोही भए पनि कानुनबमोजिम कडा कारबाही गर्न प्रशासनसँग आग्रह गरिएको छ।
पीडित पक्षले निष्पक्ष अनुसन्धानमार्फत सत्यतथ्य सार्वजनिक गरी पीडित परिवारलाई न्याय दिलाउन माग गरेको छ। ज्ञापनपत्रमा उल्लेख गरिएका आरोपहरू निवेदक पक्षका दाबी हुन्। घटनाबारे सम्बन्धित निकायको अनुसन्धान जारी रहेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com