लालबाबु सिंह ८ श्रावण बिरगंज ।
फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी को हुन् भन्ने बहस दशकौँदेखि चल्दै आएको छ। यही बहसबीच अन्तर्राष्ट्रिय फुटबल इतिहास तथा तथ्याङ्क महासंघ (IFFHS) ले आफ्नो 'Men's Historical All-Time World Best Players – Top 10' सार्वजनिक गर्दै अर्जेन्टिनाका महान् खेलाडी लियोनल मेस्सीलाई सर्वकालीन नम्बर एक फुटबलर घोषणा गरेको छ।

IFFHS ले फुटबल इतिहासभरिका खेलाडीहरूको उपलब्धि, निरन्तरता, व्यक्तिगत तथा टोलीगत सफलता, विभिन्न प्रतियोगितामा देखाएको प्रभाव र ऐतिहासिक तथ्याङ्कलाई आधार मानेर यो सूची तयार गरेको जनाएको छ। यद्यपि संस्थाले प्रत्येक खेलाडीको विस्तृत अंक प्रणाली भने सार्वजनिक गरेको छैन।
IFFHS को मूल्याङ्कनअनुसार दोस्रो स्थानमा ब्राजिलका महान् खेलाडी पेले, तेस्रो स्थानमा अर्जेन्टिनाका डिएगो म्याराडोना र चौथो स्थानमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो रहेका छन्। त्यसपछि क्रमशः योहान क्रुइफ, रोनाल्डो नाजारियो, जिनेदिन जिदान, फ्रान्ज बेकेनबाउर, अल्फ्रेडो डि स्टेफानो र रोनाल्डिन्हो शीर्ष १० मा समावेश छन्।
मेस्सीको करियर विश्व फुटबलकै सबैभन्दा सफलमध्ये एक मानिन्छ। उनले विश्वकप, कोपा अमेरिका, यूईएफए च्याम्पियन्स लिग, घरेलु लिग उपाधिसहित दर्जनौँ टोलीगत सफलता हात पारेका छन् भने व्यक्तिगत रूपमा आठ पटक बालोन डी'ओर जित्ने कीर्तिमान पनि बनाएका छन्।
IFFHS को यो सूची सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र फुटबल जगतमा फेरि एकपटक 'सर्वकालीन महान् (GOAT)' को बहस चर्किएको छ। मेस्सी समर्थकहरूले यसलाई ऐतिहासिक मान्यता भएको बताएका छन् भने अन्य समर्थकहरूले आ–आफ्ना तर्क प्रस्तुत गरिरहेका छन्। यद्यपि फुटबल इतिहास र तथ्याङ्कमा विशेषज्ञता राख्ने संस्थाले मेस्सीलाई शीर्ष स्थानमा राखेको यो मूल्याङ्कनले विश्व फुटबलमा नयाँ चर्चा भने अवश्य सिर्जना गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com