info@elocalnepalkhabar.com

शनिबार–आइतबार अस्पतालमा सार्वजनिक बिदा लागू, तर आकस्मिक र शल्यक्रिया सेवा २४ सै घण्टा सञ्चालनमै!

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले अस्पतालहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा आएको जनाएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार लागू गरिएको यस व्यवस्थाअन्तर्गत नियमित स्वास्थ्य सेवाहरू बिदाका दिनहरूमा प्रभावित हुने भए पनि अत्यावश्यक सेवाहरू भने निरन्तर सञ्चालनमा रहनेछन्।


मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा अन्तरंग (Inpatient) तथा आकस्मिक शल्यक्रिया (OT) सेवाहरू भने सधैंझैं २४ सै घण्टा सञ्चालनमा रहने स्पष्ट पारेको छ। बिरामीको चाप र आवश्यकतालाई ध्यानमा राख्दै अस्पतालहरूले सेवा पुनःसमायोजन (Reschedule) गरी आपतकालीन सेवा अवरोध नहुने व्यवस्था मिलाउने पनि उल्लेख गरिएको छ।

बिदाका दिनहरूमा बिरामीले सहज रूपमा सेवा पाउन सकून् भन्ने उद्देश्यले अस्पतालहरूलाई आवश्यक जनशक्ति व्यवस्थापन, एम्बुलेन्स तयारी अवस्था र आवश्यक परे नजिकका उपयुक्त अस्पतालमा रेफर गर्ने व्यवस्था गर्न निर्देशन दिइएको छ।

साथै, सर्वसाधारणलाई उपलब्ध सेवाहरूको जानकारी सम्बन्धित अस्पतालको वेबसाइट तथा सूचना प्रणालीमार्फत सार्वजनिक गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले आगामी दिनमा अस्पताल सुधार कार्यविधि अनुसार संगठन तथा व्यवस्थापन (O&M) प्रक्रिया पूरा गरी स्वास्थ्य सेवालाई अझ प्रभावकारी र व्यवस्थित बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रतिक्रिया