भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण चीनसँग जोडिएका प्रमुख उत्तरी नाका रसुवागढी र तातोपानी अवरुद्ध भएपछि वीरगंज नाकामा व्यापारिक चाप अत्यधिक बढेको छ ।
दसैँ, तिहार तथा छठजस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा चीनबाट आयात हुने लत्ताकपडा, जुत्ता, सजावटका सामग्री, ड्राइ फ्रुट्स, चकलेटलगायतका सामान व्यापारीहरूले नाका परिवर्तन गरी वीरगन्ज र यहाँस्थित सिर्सिया सुक्खा बन्दरगाहमार्फत भित्र्याउन थालेका छन् ।
वीरगंज भन्सारअन्तर्गतको सिर्सिया सुक्खा बन्दरगाहबाट रेलमार्फत चीनबाट आयात भएका केही सामान भित्रिनसमेत सुरु भएको छ । चाडपर्व लक्षित सामग्रीसँगै इन्धन, सवारीसाधन, निर्माण सामग्री, खाने तेललगायतका मालवस्तुको नियमित आयात भइरहेकाले भदौ महिनामा वीरगन्ज भन्सारको राजस्व असुलीमा समेत वृद्धि भएको छ ।
उत्तरी नाका अवरुद्ध हुँदा दक्षिणी नाकामा व्यापारिक चाप बढेसँगै वीरगन्ज भन्सार कार्यालयको दैनिक आयात करिब ७० प्रतिशतले वृद्धि भएको छ । राजस्व असुलीमा पनि उत्साहजनक सुधार देखिएको छ । भदौ महिनाका लागि वीरगन्ज भन्सार कार्यालयलाई रु २३ अर्ब ५२ करोड राजस्व सङ्कलनको लक्ष्य तोकिएकोमा २४ गतेसम्ममै लक्ष्यको ९३.३७ प्रतिशत राजस्व सङ्कलन भइसकेको छ।
तर, मुख्य राजमार्गमा बाढीले क्षति पुर्याएका कारण काठमाडौँसम्म सामान ढुवानी गर्न वैकल्पिक सडक प्रयोग गर्नुपर्ने अवस्था छ । ठूला कन्टेनरमा आउने सामानलाई बाटोमै साना गाडीमा सारेर ढुवानी गर्नुपर्ने बाध्यता रहेकाले ढुवानी लागतसमेत बढेको छ ।
ढुवानी खर्च बढ्दा त्यसको प्रत्यक्ष असर बजार मूल्यमा पर्न सक्ने भन्दै उपभोक्तावादी सङ्घसंस्थाले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले उत्तरी नाका अवरुद्ध भएको अवस्थामा आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले वैकल्पिक मार्ग तथा ढुवानी व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com