info@elocalnepalkhabar.com

‘खराब’ एनिमेसनले चीनमा तहल्का

कमजोर दृश्य, अस्वाभाविक पात्र र संवादका कारण सामाजिक सञ्जालमा मजाक बनेको कम बजेटको चिनियाँ एनिमेटेड फिल्म ‘नियु लाइ’ अहिले अप्रत्याशित रूपमा हिट बनेको छ। फिल्म कति ‘खराब’ छ भनेर हेर्न दर्शक सिनेमाघर पुग्न थालेपछि यसको व्यापारमा उल्लेख्य वृद्धि भएको हो।

टिकट प्लेटफर्म माओयानका अनुसार अगस्ट ५ मा प्रदर्शनमा आएको फिल्मले पहिलो साता करिब ७ हजार युआन कमाएको थियो। तर सामाजिक सञ्जालमा चर्चा बढ्दै गएपछि यसको कुल कमाइ ३ करोड ३० लाख ६० हजार युआन अर्थात् करिब ४९ लाख २० हजार अमेरिकी डलर पुगेको छ।

आमा–छोराले निर्माण गरेको फिल्म बाछो ‘नियु लाइ’ को यात्रामा आधारित छ। फिल्म निर्माण गर्न पाँच वर्ष लागेको र दुवैले मौलिक संगीतसमेत तयार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

चीनमा कार्यरत अमेरिकी संगीतकार केलान मोरियार्टीले फिल्मलाई ‘यति खराब कि त्यति नै राम्रो’ भन्नुभएको छ। उहाँका अनुसार फिल्म पूर्ण नभए पनि त्यसमा मानवीय भावना र मेहनत देखिन्छ। उहाँले एआईले केही सेकेन्डमै यस्तो फिल्म बनाउन सक्ने भए पनि निर्माताले एआई प्रयोग नगरी वर्षौं लगाएर फिल्म बनाएको बताउनुभयो।

कठोर देखिने थ्रीडी पात्र र अस्वाभाविक संवाद रहेको फिल्मले बाछो र उसकी आमाबीचको सम्बन्ध प्रस्तुत गर्छ। फिल्मको अपरिष्कृत शैली सामाजिक सञ्जालमा भाइरल भएपछि दर्शकले त्यसका कमजोरीलाई नै मनोरञ्जनको हिस्सा बनाउन थालेका छन्।

बेइजिङकी विद्यार्थी स्टेला जिङले सामाजिक सञ्जालमा देखिएका मीमका कारण आफू फिल्म हेर्न पुगेको बताउनुभयो। उहाँका अनुसार प्रस्तुति केही असहज भए पनि बाछोको हिँडाइजस्ता विवरण रमाइला छन्।

फिल्म चर्चामा आएपछि ताओबाओलगायत अनलाइन बजारमा पहेँलो गाईका टी–सर्ट, मूर्ति तथा अन्य सामग्री बिक्री हुन थालेका छन्। बेइजिङका सिनेमाघरमा पनि फिल्मका हातले बनाइएका ब्यानर देखिन थालेका छन्।

अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यु साउथ वेल्सका एसोसिएट प्रोफेसर पान वाङले फिल्मको खस्रोपन र अपूर्णता नै यसको आकर्षण बनेको बताउनुभएको छ। चीनमा एनिमेसनको लोकप्रियता बढिरहेका बेला गत वर्ष ‘ने झा २’ ले ‘इनसाइड आउट २’ लाई उछिन्दै सर्वाधिक कमाउने एनिमेटेड फिल्मको कीर्तिमान बनाएको थियो।

‘नियु लाइ’ को सफलता भने उच्च बजेटभन्दा मानवीय मेहनत, अपूर्णताको आकर्षण र सामाजिक सञ्जालको प्रभावले पनि दर्शक तान्न सकिने उदाहरण बनेको छ।

प्रतिक्रिया