info@elocalnepalkhabar.com

पाँचबुँदे सहमति अस्वीकार भएपछि पथलैया–वीरगंज सडक पुनः अवरुद्ध

तीन वर्षीया गरिमा चौधरीको हत्या घटनालाई लिएर पीडित परिवार र प्रशासनबिच बिहीबार राति भएको पाँचबुँदे सहमति पीडित पक्षले अस्वीकार गरेपछि पथलैया–वीरगंज सडकखण्ड शुक्रबार पनि अवरुद्ध भएको छ ।

सहमति कार्यान्वयनप्रति असन्तुष्टि जनाउँदै पीडित परिवार र स्थानीयवासी पुनः प्रदर्शनमा उत्रिएपछि सडकमा यातायात सञ्चालन हुन सकेको छैन । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार वार्ताबाट पाँचबुँदे सहमति भए पनि पीडित परिवारले त्यसलाई स्वीकार नगरेकाले पथलैया–वीरगञ्ज सडकखण्ड बन्द रहेको छ । उहाँका अनुसार पूर्व–पश्चिम महेन्द्र राजमार्ग भने शुक्रबार बिहानदेखि सञ्चालनमा आएको छ ।

वीरगंजतर्फबाट आउने सवारीसाधनलाई वैकल्पिक मार्गका रूपमा कलैया–पिलुवा सडक हुँदै गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । पीडित परिवारलाई सहमतिका बुँदाबारे थप जानकारी गराउँदै सडक खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । गरिमा हत्या घटनाका दोषीलाई कडा कारबाही, पीडित परिवारलाई न्याय तथा अन्य माग सम्बोधन हुनुपर्ने भन्दै परिवारजन र स्थानीयवासीले केही दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनका कारण पथलैया–वीरगंज  सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ । यसअघि प्रशासन, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीयवासी तथा पीडित पक्षबिच भएको वार्ताबाट आन्दोलन स्थगित गर्ने सहमति भएको जनाइएको थियो । तर पीडित परिवारले सहमति अस्वीकार गरेपछि सडक पुनः अवरुद्ध भएको हो ।

सहमति कार्यान्वयनका विषयमा थप छलफल गरी सडक खुलाउने प्रयास भइरहेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया