info@elocalnepalkhabar.com

जितपुरसिमरा नगर अस्पतालमा सर्पदंश उपचार सेवा सञ्चालनका लागि अनुमति माग

जितपुरसिमरा उपमहानगरपालिकाले नगर अस्पतालमा सर्पदंश उपचार सेवा सञ्चालनका लागि आवश्यक अनुमति दिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), टेकुलाई अनुरोध गरेको छ ।

नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौलाले हस्ताक्षर गरेको पत्रमार्फत नगर अस्पतालको अनुगमन गरी सर्पदंश उपचार सेवा सञ्चालनको आधिकारिक अनुमति प्रदान गर्न महाशाखासँग आग्रह गरिएको हो ।

नगर अस्पतालमा विगत तीन वर्षदेखि मेडिकल अफिसर, नर्स तथा पारामेडिक्सको टोलीमार्फत २४ सै घण्टा आकस्मिक सेवा सञ्चालन हुँदै आएको छ । अस्पतालमा सर्पदंश उपचारका लागि आवश्यक औषधि, उपकरण तथा भौतिक पूर्वाधारको तयारीसमेत पूरा भइसकेकाले महाशाखाबाट स्वीकृति प्राप्त हुनासाथ सेवा सुरु गर्न अस्पताल सक्षम रहेको उपमहानगरपालिकाले जनाएको छ ।

जितपुरसिमरा क्षेत्रमा वैशाखदेखि कात्तिकसम्म सर्पदंशका घटना बढी हुने गरेका छन् । यस अवधिमा वार्षिक औसत ५० देखि ५५ जना सर्पदंशका बिरामी हुने गरेको उपमहानगरपालिकाको तथ्यांक छ ।

हाल सर्पदंशका बिरामीलाई उपचारका लागि करिब ४० किलोमिटर टाढा रहेको कलैया प्रादेशिक अस्पताल वा करिब ३० किलोमिटर दूरीमा रहेको नारायणी अस्पताल, वीरगञ्ज लैजानुपर्ने बाध्यता छ । समयमै उपचार नपाउँदा चालु आर्थिक वर्षमा दुई बालबालिकाको मृत्यु भइसकेको अवस्थालाई ध्यानमा राख्दै नगर अस्पतालमै सर्पदंश उपचार सेवा सञ्चालन गर्न लागिएको हो ।

नगर अस्पतालबाटै सर्पदंश उपचार सेवा उपलब्ध भएमा बिरामीलाई टाढा लैजानुपर्ने बाध्यता हट्नुका साथै उपचारमा हुने ढिलाइ, अकाल मृत्यु तथा सम्भावित अपाङ्गताको जोखिमसमेत न्यूनीकरण गर्न सहयोग पुग्ने उपमहानगरपालिकाको विश्वास छ ।

प्रतिक्रिया