रसुवा — भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार अभियानलाई रातभर निरन्तरता दिने भएको छ।
प्रभावितको संख्या ठूलो भएपछि उद्धारका लागि चौतर्फी अपिल भइरहेका बेला सेनाले ११ वटा एक्स टिममार्फत जमिनबाटै रातभर उद्धार अभियान सञ्चालन गर्ने जनाएको छ। टिमुरेभन्दा माथिल्लो क्षेत्रमा रहेका ठूलो संख्याका प्रभावितलाई भने भोलि बिहान हवाई माध्यमबाट उद्धार गर्ने तयारी गरिएको छ।


त्यसैगरी विभिन्न टनेलमा अड्किएका व्यक्तिको खोजी तथा उद्धारका लागि समेत प्रयास जारी रहने सेनाले जनाएको छ।
उद्धार कार्यलाई प्रभावकारी बनाउन थप फौज परिचालन, हेलिकप्टरको समन्वयात्मक प्रयोग, राहत सामग्री वितरण तथा मित्रराष्ट्रबाट प्राप्त हुने राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउने कामलाई पनि तीव्रता दिइनेछ।
सेनाका अनुसार आज दिनभर १ हजार ६९७ जना फौज उद्धार तथा राहत कार्यमा परिचालन गरिएको थियो भने थप परिचालनका लागि ६५६ जना तयारी अवस्थामा राखिएका छन्।
आज ६ वटा सैनिक हेलिकप्टरबाट ९४ जना तथा ५ वटा गैरसैनिक हेलिकप्टरबाट १२ जना उद्धार गरिएको छ। जमिनबाट थप २७ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।


बाढी प्रभावित क्षेत्रमा आज ८०० केजी टेन्ट र २०० केजी मेडिकल सामग्री पुर्याइएको छ। उद्धारमा खटिएका हेलिकप्टरमार्फत प्रभावितलाई खाना तथा पानीसमेत उपलब्ध गराइएको छ।
नेपाली सेनाले अन्य सुरक्षा निकाय, सरोकारवाला संस्था तथा स्थानीय जनसमुदायसँग समन्वय गर्दै जोखिममा रहेका नागरिकको खोज तथा उद्धारलाई प्राथमिकताका साथ निरन्तरता दिने जनाएको छ।
source : PMO NEPAL
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com