info@elocalnepalkhabar.com

सप्तरीमा विभिन्न मुद्दाका १४ फरार प्रतिवादी पक्राउ

सप्तरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १४ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै चोरी, सवारी ज्यान तथा कुटपिट मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको जनाएको हो । प्रहरीका अनुसार नकवजनी चोरी मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट ५ हजार रुपैयाँ जरिवाना तोकिएका बालनबिहुल गाउँपालिका–५ का मिथुन भन्ने चन्द्रकान्त यादव र सवारी ज्यान मुद्दामा २ हजार रुपैयाँ जरिवाना तोकिएका मुकेशकुमार यादव पक्राउ परेका छन् ।

त्यस्तै, कुटपिट मुद्दामा जनही ३ हजार रुपैयाँ जरिवाना तोकिएका संजीवकुमार यादव, राजकुमार यादव, रामचन्द्र यादव, विन्देश्वर यादव, भूपनारायण यादव, अशोककुमार यादव, शिवराम यादव, प्रदीप यादव, चन्देश्वर यादव, अजितकुमार यादव र देवनारायण यादव पक्राउ परेका छन् । सोही मुद्दामा ५ हजार रुपैयाँ जरिवाना तोकिएका डाक्नेश्वरी नगरपालिका–४ का विनोदकुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी कारबाहीका लागि सप्तरी जिल्ला अदालत, राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया