रसुवामा आएको भीषण बाढीका क्रममा रौतहटको वृन्दावन नगरपालिका–२, धनगढीका गौरव राउत सम्पर्कविहीन हुनुभएको छ ।
परिवारका अनुसार रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली हाइड्रो इलेक्ट्रिक आयोजनामा कार्यरत राउत बुधबार बिहान करिब १० बजेदेखि सम्पर्कविहीन हुनुभएको हो । बाढीपछि गौरवसँग सम्पर्क हुन नसकेपछि परिवारजनमा चिन्ता बढेको छ। गौरवका बुवा दिनदयाल राउतका अनुसार बुधबार बिहान करिब ६ बजे बुहारीसँग छोराको कुराकानी भएको थियो। त्यसपछि बिहान १० बजेदेखि गौरवसँग सम्पर्क हुन सकेको छैन ।
“बिहान करिब ६ बजे बुहारीसँग कुरा भएको रहेछ । १० बजेपछि सम्पर्क हुन छाडेको खबर पाएपछि मैले पनि पटक–पटक फोन गरेँ, तर मोबाइल स्विच अफ छ । छोराको अवस्थाबारे जानकारी नपाउँदा परिवारमा निकै तनाव र चिन्ता बढेको छ। छोराको अवस्थाबारे बुझ्न स–परिवार आतुर छौँ,” दिनदयालले भन्नुभयो ।
गौरव करिब छ वर्षदेखि सोही आयोजनामा कार्यरत हुनुहुन्छ। अचानक सम्पर्कविहीन भएपछि उहाँको अवस्था र हाल कहाँ हुनुहुन्छ भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त हुन नसकेको परिवारले जनाएको छ । परिवारले गौरवसँगै कार्यरत कर्मचारी, घटनास्थल आसपासमा रहेका व्यक्ति वा उहाँको अवस्थाबारे कुनै विश्वसनीय जानकारी प्राप्त गरेका व्यक्तिलाई तत्काल परिवारमा जानकारी गराइदिन आग्रह गरेको छ ।
गौरव राउतबारे कुनै जानकारी प्राप्त भएमा ९८४००७२३४५ नम्बरमा सम्पर्क गरी जानकारी गराउन परिवारले अनुरोध गरेको छ ।
गौरव सुरक्षित र सकुशल रहेको खबर प्राप्त हुने आशामा परिवारजन रहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com