info@elocalnepalkhabar.com

त्रिभुवन राजपथ विस्तारपछि घरधनीको मनपरी: भाडा बढाए कारबाही हुने

वीरगञ्ज, पर्सा ।

वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पर्ने त्रिभुवन राजपथ विस्तारका क्रममा मुख्य सडकका घरहरू भत्किएपछि भाडामा बस्ने व्यवसायीहरूमाथि अनावश्यक दबाब र भाडा वृद्धि भइरहेको गुनासो बढेपछि महानगरपालिका गम्भीर बनेको छ।



महानगरले सूचना जारी गर्दै घर, कोठा, सटर तथा गोदाम भाडामा लिँदा–दिँदा कुनै पनि प्रकारको दबाब, अनधिकृत धरौटी माग तथा मनपरी भाडा वृद्धि नगर्न कडा निर्देशन दिएको छ।


महानगरका अनुसार कतिपय घरधनीहरूले बढी भाडा पाउने लोभमा सम्झौता अगावै व्यवसायी हटाउन खोज्ने तथा गलत तरिकाले सम्झौता गरिरहेको पाइएको छ, जसले बजारमा अस्थिरता सिर्जना गरेको छ।


अबदेखि सबै बहाल सम्झौताहरू सम्बन्धित वडा कार्यालयबाट अनिवार्य प्रमाणित गराई एक प्रति वीरगञ्ज महानगरपालिका, राजश्व व्यवस्थापन महाशाखामा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।


महानगरले चेतावनी दिँदै यदि कुनै घरधनी वा पक्षले दबाब दिएर भाडा लिने–दिने, फर्जी सम्झौता पेश गर्ने वा गैरकानुनी रूपमा लेनदेन गरेको पाइएमा सुरु अवधिदेखि नै जरिवाना तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने जनाएको छ।


महानगरले सबै पक्षलाई आपसी समझदारी, पारदर्शिता र कानुनी प्रक्रियाअनुसार मात्र भाडा सम्झौता गर्न आग्रह गरेको छ।

प्रतिक्रिया