info@elocalnepalkhabar.com

“वैशाख १५ बाट कक्षा सुरु गर्ने निर्णयप्रति प्याब्सन–हिसान आक्रामक: ‘विद्यार्थीको भविष्यसँग खेलबाड नगर्नू’”

पर्सा — शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णयप्रति निजी विद्यालय सञ्चालकहरू आक्रोशित भएका छन्। प्याब्सन र हिसानले संयुक्त रूपमा शैक्षिक तालिका पुनः समन्वय गर्न माग गर्दै सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराएका छन्।


सञ्चालकहरूले शैक्षिक सत्र ढिला गर्दा विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन सबैमा अनावश्यक दबाब सिर्जना हुने उल्लेख गर्दै यसले दीर्घकालीन रूपमा सम्पूर्ण शैक्षिक क्यालेन्डर नै अस्तव्यस्त बनाउन सक्ने चेतावनी दिएका छन्।


उनीहरूले शिक्षा नियमावली २०५९ को नियम ८४ उद्धृत गर्दै शैक्षिक सत्र वैशाख १ देखि चैत मसान्तसम्म सञ्चालन हुनुपर्ने र कम्तीमा २२० कार्यदिन अनिवार्य हुनुपर्ने व्यवस्था स्मरण गराएका छन्।


त्यसैगरी, संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार वार्षिक परीक्षा सम्पन्न भएपछि मात्रै नयाँ भर्ना प्रक्रिया सुरु गर्नुपर्ने प्रावधानलाई समेत जोड दिइएको छ।


विद्यालय सञ्चालकहरूले नेपालको संविधानअनुसार आधारभूत तथा माध्यमिक शिक्षाको अधिकार स्थानीय तहसँग रहेको उल्लेख गर्दै महानगरपालिकासँग समन्वय गरेर वैकल्पिक कार्यतालिका प्रस्ताव गरेका छन्।


 प्रस्तावित कार्यतालिका अनुसारस्


वैशाख ४ गतेदेखि भर्ना सुरु

वैशाख ६ गतेसम्म शिक्षक प्रशिक्षण

वैशाख ७ गते अभिमुखीकरण कार्यक्रम

वैशाख ८ गते विद्यार्थी हाजिरी र पाठ्यपुस्तक जानकारी

वैशाख ९ गतेदेखि नियमित कक्षा सञ्चालन


सञ्चालकहरूले वैशाख १ गतेबाटै शैक्षिक सत्र कायम गर्न र प्रस्तावित तालिकाअनुसार कक्षा सञ्चालन गर्न महानगरपालिकासँग सहकार्य गर्न आग्रह गरेका छन्।


उक्त अनुरोध पत्रमा नेशनल प्याब्सन पर्साका नगर अध्यक्ष सोनालाल प्रसाद पटेल, प्याब्सन पर्साका नगर अध्यक्ष राहुल श्रीवास्तव, एन प्याब्सन पर्साका नगर अध्यक्ष जियालाल गुप्ता, हिसान पर्साका जिल्ला अध्यक्ष मुकेश गुप्ता लगायतका हस्ताक्षर रहेका छन् भने महानगर सचिव अमित आलोकको पनि सहभागिता रहेको छ।

प्रतिक्रिया