सर्लाहीको बरहथवा नगरपालिका–७, तीनघरियामा सोमबार बिहान एक पुरुष मृत फेला परेका छन् ।
बरहथवा नगरपालिका–३, भगवतीपुरका ४६ वर्षीय राजेश्वर पुरी कलभर्टमुनिको नालीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । पुरी सोही स्थानमा किराना पसल सञ्चालन गर्दै आएका थिए । स्थानीयका अनुसार उनी आइतबार राति गाउँमै आयोजित भोजमा सहभागी भएका थिए ।
मृतकका ज्वाइँ सुवास गिरीले भने पुरीलाई रातभर भोज खुवाएर हत्या गरिएको आरोप लगाएका छन्। पसलमा उधारो खाएका व्यक्तिहरू मिलेर ससुराको हत्या गरेको हुनसक्ने उनको दाबी छ । गिरीले घटनामा शङ्कास्पद देखिएका व्यक्तिमाथि प्रहरीले तत्काल निगरानी तथा खोजतलास नगरेको गुनासो गर्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
यता, प्रहरीले भने घटनाको कारण हालसम्म खुल्न नसकेको जनाएको छ । इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं डीएसपी गोपीकृष्ण सुवेदीले घटनाको प्रकृति र शवको अवस्था हेर्दा घटना तत्काल शङ्कास्पद नदेखिएको भए पनि थप अनुसन्धान भइरहेको जानकारी दिए । डीएसपी सुवेदीका अनुसार आफू स्वयं घटनास्थलमा पुगेर घटनाबारे जानकारी लिएका छन् । उनले पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्ने बताए ।
मृतक पुरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com